विषैविषले घेरेको किसान

Aअहिले किसानहरू ३ पटक विष सेवन गर्न बाध्य भइरहेछन् । पहिलो, खेतीपातीमा उत्पादन बढाउन राखिएको विष । दोस्रो, भण्डारण गर्दा राखिने विष । तेस्रो, खेतीपाती बिग्रेर या ऋण तिर्न नसकेर बाध्यतावश खाने विष ।

– कृष्णप्रसाद पौडेल,

 

काठमाडौँ — रसायन र विषादीमा आधारित खेतीपाती मानव स्वास्थ्यभन्दा खाद्यवस्तुमा व्यापार गर्ने र नाफा कमाउनेतर्फ उन्मुख छ । यस्तो दृष्टिले आधुनिक मानव जीवनको मुख्य आधार कृषिक्षेत्र संकटग्रस्त बन्दैछ । यस्तो व्यापारले हामीलाई कस्तो अवस्थामा पुर्‍याउँछ ? यसको सटिक उत्तर एक दक्षिण अमेरिकी आदिबासीले दिएका छन्, ‘जुन दिन यस धर्तीको अन्तिम माछो मारिनेछ, अन्तिम रुख काटिनेछ र अन्तिम नदी प्रदूषित हुनेछ, त्यो दिनमात्र मानिसलाई थाहा हुनेछ कि पैसा खाएर बाँच्न सकिँदैन ।’

आजभन्दा ८० वर्ष पहिले अल्बर्ट हवार्डले कृत्रिम मल (रसायन) बारे आफ्नो पुस्तक एन एग्रिकल्चर टेस्टामेन्ट (कृषिको बाइबल) मा लेखेका थिए : कृत्रिम मल (रसायन) को प्रयोगले स्वत: कृत्रिम पोषण, कृत्रिम खाना, कृत्रिम वस्तुभाउ र अन्तत: कृत्रिम मानव (महिला र पुरुष) बन्ने प्रक्रिया भइरहेको छ ।’ यो कुराको मर्म अहिले उजागार भइरहेको छ । यस्तो कृत्रिम प्रक्रिया कसरी खानेकुरासँग जोडिएको हुन्छ भन्ने कुरा अहिले निरन्तर बढिरहेको नसर्ने दीर्घरोगहरूले पुष्टि गर्दैछ ।नेपालको खाद्य प्रणाली हरित क्रान्ति कृषि प्रणालीमा आधारित छ । यो वैदेशिक सहायता आउन थालेसँगै बढी उत्पादनका लागि उत्पादन क्षेत्र विस्तार, धेरै फल्ने बिउको प्रयोग, रासायनिक मल, सिंचाइ र दुई वा दुईभन्दा बढी बाली लगाउने अभियानबाट सुरु भएको थियो । तर अहिले यो जसरी हुन्छ, नाफामात्र कमाउने ध्याउन्नसँगै रसायन, विषादी, हर्मोन र नगल्ने प्लास्टिकको अत्यधिक प्रयोगबाट ग्रसित छ । यिनको प्रयोगले कृषि उत्पादन र माटोको उत्पादकत्वमा कमी आइरहेको छ । जैविक विविधतामा ह्रास आउनुका साथै जोखिम सहने क्षमतामा कमी आएको छ । यसबाट आउने खानेकुरामा मन्दविष छ । यसले चिनीरोग, रक्तचाप, मुटुरोग, क्यान्सर र मिर्गौलाले काम नगर्ने खालका स्वास्थ्य समस्या दिनदिनै बढाइरहेको छ ।

२० वर्षमा छिमेकी मुलुक भारतमा २ लाख ५० हजारभन्दा बढी किसानले आत्महत्या गरेका छन् । सरकारी तथ्याङ्कमा नपरेका किसानका यस्ता आत्महत्याका घटना अझ बढी हुन सक्छन् । यसको मूलदोष हरित क्रान्ति कृषिलाई दिने गरिएको छ । किसानहरूले उत्पादन बढाउन बिउ, रसायन र विषादीका लागि खर्चिनुपर्ने रकमको अभावमा ठूलो परिणाममा ऋण लिन बाध्य हुन्छन् । यस्ता आत्महत्या खेतीपातीबाट आम्दानी नहुँदा ऋण तिर्न नसकेर, घर व्यवहार चलाउन नसकेर र विषादीको प्रत्यक्ष प्रभावका कारण मानसिक विचलन भएर हुने गरेको तथ्य बाहिर आएको छ ।

यो रोग कृषिलाई व्यावसायिक बनाउने नाममा नेपालमा पनि विस्तारै भित्रिरहेको छ । पहुँच नभएका साना किसानले ठूलो ऋण नपाउने भएर आत्महत्या गरिहाल्ने तहमा नपुगेको भए पनि घर व्यवहार चलाउन नसकेर अत्यधिक विषादीले विक्षिप्त भएका उदाहरण बाहिर आएका छन् । अहिले किसानहरू ३ पटक विष सेवन गर्न बाध्य भइरहेछन् । पहिलो, खेतीपातीमा उत्पादन बढाउन राखिएको विष । दोस्रो, भण्डारण गर्दा राखिने विष । तेस्रो, खेतीपाती बिग्रेर या ऋण तिर्न नसकेर बाध्यतावश खाने विष ।

खेतीपातीका यी नकारात्मक प्रभावबाट बचाउन रसायन र विषादीरहित, कम लगानीको पर्यावरणीय कृषि अपनाउनुको विकल्प छैन । हामीलाई यसतर्फ बढ्ने अहिले ठूलो मौका छ । यस्तो कृषि प्रणाली स्वस्थ खानाको स्रोत हो । यो स्थानीय स्रोतको दिगो परिचालनमा आधारित भएकोले उत्पादन, रोजगारी र किसानको आम्दानी बढाउन सक्षम छ । अति शुद्धताको कुरा नगर्ने हो भने नेपालको ७५ प्रतिशतभन्दा बढी क्षेत्र आफैंमा जैविक छ, जसको प्रबद्र्धन गर्न धेरै कठिनाइ छैन । जैविक उत्पादनको माग देशभित्र र बाहिर बढ्दैछ ।

तर हाम्रा कृषिका नीति, संरचना र खेतीपातीका अभ्यास खाद्यका लागिभन्दा आम्दानीका लागिमात्र अभिमुख छन् । हामी कृषि उपजको व्यापारबाट यति धेरै प्रभावित छौं कि बेच्ने सम्भावना नदेखेपछि न एक बोट लगाउन मन गर्छौं, न एक बोट स्याउ नै उमार्न । यति धेरै खाद्यान्न आयात गरिरहेको अवस्थामा कृषिलाई खाद्यमुखी बनाउने नीतिगत पहल कृषि सपार्ने ठूलो मौका हो ।

यी मौकामात्र होइन, नेपालको कृषिको मोडलाई फेर्नैपर्ने बाध्यता छ । स्वच्छ खानेकुरा र अर्थतन्त्रको मूल आधार कृषि र कृषिको आधार पर्यावरण तथा माटो सुधार्नुको विकल्प छैन । हाम्रो जस्तो पहाडी कृषिले सम्म मैदानी कृषिसँग आम उत्पादनमा प्रतिस्पर्धा गर्न पनि सक्दैन । तुलनात्मक लाभको कृषिको दृष्टिकोण अपनाउनु एकमात्र विकल्प हो ।

रसायन र विषादीका जोखिम अनगिन्ती छन् । एक त रसायनले माटोभित्र बिरुवालाई चाहिने पोषण तत्त्व बनाउने प्रक्रियालाई तहसनहस पार्छ । यिनको प्रयोगले माटोको प्राकृतिक गुणमा फेरबदल हुनेहुँदा माटोमा रहेका सूक्ष्म जीवाणुहरू नष्ट हुन्छन् । यसले माटोमा खनिज चक्रसमेत कमजोर बन्छ । रसायनसँगै पोटास, फस्फोरस र अन्य खनिज पदार्थ पनि बाहिरबाट दिने गरिन्छ । यसरी माटोमा पोषण चक्र अवरुद्ध हुँदा बोटबिरुवा पोषण तत्त्वका लागि बाह्य स्रोतमा भर पर्दै जानुपर्ने हुन्छ ।

अत्यधिक रसायनको प्रयोगले माटो र बिरुवा दुबैको आफै खाना बनाउने स्वावलम्बी तथा रोग निरोधक क्षमता कमजोर बनाउँदै लैजान्छ । कालान्तरमा बोटबिरुवाको वृद्धि र उत्पादन दुबै घट्छ भने रोग तथा किराको महामारी फैलिँदै जान्छ । यस्तो हुनुको मुख्य कारण रसायन र विषादीको प्रयोग हो । जब हामी रसायन र विषादी हाल्छौं, यसले प्रकृतिमा रहेका मित्रजीव (जसले बोटबिरुवा नष्ट गर्ने शत्रुकिरा खान्छ) समेत मार्छ भने शत्रुकिराको विष सहने क्षमता बढ्छ । यसको समाधान भन्दै थप रसायन, हार्मोन, भिटामिन थप्ने गरिन्छ । यसको कुनै सीमा छैन । यही कुरा पशुवस्तु र मानिसलाई दिने रसायन, हार्मोन र भिटामिनको हकमा लागू हुन्छ । परनिर्भरताको यो चक्रले जीव तथा वनस्पतिको खाद्य प्रणालीको समग्र प्रक्रियालाई ध्वस्त बनाउँदै लगेको छ ।

बाहिरबाट दिइने खनिजको प्रभाव अझै भयावह छ । पोटास र फस्फोरस जस्ता जीवन्त प्रक्रियाका महत्त्वपूर्ण खनिज कृत्रिम तरिकाबाट बनाउन सकिन्न । यिनको अर्को विकल्प छैन । यिनका खानी लगातार दोहन गर्ने काम भइरहेको छ । यी विस्तारै सकिँदै जानेछन् । जविन प्रक्रियाका यी खनिजको प्राकृतिक पुनर्उत्पादनको प्रक्रिया बिगार्नु भनेको आफ्नै अस्तित्वको अन्त्य गर्ने आत्मघाती बाटो हो । बाहिरबाट दिइने पोटास र फस्फोरस जस्ता खनिजको अर्को ठूलो अर्थ राजनीति पनि छ । यी खनिजमध्ये पोटासको ७० प्रतिशत भण्डार पूर्व सोभियत राज्यहरू र क्यानाडामा छ भने र ८५ प्रतिशत गुणस्तरीय फस्फोरसको भण्डार मोरक्कोमा छ । अहिलेकै जस्तो बाह्य स्रोतमा आधारित खेती प्रणाली रहिरहे यसको नियन्त्रणले खनिज तेलले निम्त्याएको भन्दा चर्को विश्वव्यापी तनाव र झगडा हुनेछ ।

हरित क्रान्ति कृषिको यस्तो खतरनाक नकारात्मक प्रभावबाट नेपाली माटो र आम नागरिकको स्वास्थ्य बचाउनु सरकारको दायित्व हो । तर घरि–घरि लाग्छ, सत्ताको उन्मादले मानिसको मति बिगार्छ र सत्ताधारीहरू यो दायित्व भुल्ने गर्छन् । हैन भने नसर्ने दीर्घरोगको अहिलेकै विकराल रूप देखेका नीति निर्माताहरू आफै र भविष्यका सन्ततिहरू यस्ता रोगबाट पीडित हुन नपरोस् भनी स्वस्थ खानेकुराको स्रोत पर्यावरणीय अर्थात जैविक कृषि अपनाउन उचित कदम किन चाल्दैनन् ? उल्टै रोग उपचारका नाममा आफै र आसेपासेलाई राज्यकोष बाँडेर बदनामी खेपिरहेका छन् । पैसाले तत्कालका लागि एकाध चम्त्कार ल्याए होला, तर पैसाले मात्र सबैको काल टर्दैन । यो दीर्घकालीन समाधान हैन ।

जैविक खेतीको सपना देख्ने ऊर्जाशील समूहसँगको सहकार्यबाट मात्र भावी सन्ततिको स्वास्थ्य संरक्षण गर्न सकिनेछ । आशा गरौं, सरकार यो कुरा आत्मसात गरी बढ्नेछ ।

https://www.kantipurdaily.com/bibidha/2018/07/20/153205181455954833.html

प्रकाशित : कान्तिपुर, श्रावण ४, २०७५

615

Leave a Reply

Your email address will not be published. Required fields are marked *