कर्णालीलाई किन जैविक क्षेत्र बनाउने ? उन्नत कृषि प्रविधिसहित जैविक खेती स्थानीय तहमा रोजगारी र आम्दानी बढाउने एक मात्र विकल्प हो ।

– कृष्णप्रसाद पौडेल,

विगत तीन दशकदेखि कर्णाली क्षेत्रलाई ‘खाद्यान्न अभाव क्षेत्र’ भन्दै उच्च तहका कर्मचारी र राजनीतिज्ञका चाखमा विश्व खाद्य संगठन र नेपाल खाद्य संस्थानले कामका लागि खाद्यान्न र अनुदानमा चामल वितरण गर्दै आएका छन् । यस्तो कार्यले एकातिर कर्णाली क्षेत्रलाई निरन्तर परनिर्भर बनाउँदै, हीनताबोध र कुण्ठा बढाउँदै लगेको छ भने अर्कोतर्फ समुदायस्तरसम्मै कर्णालीमा खेतीपाती गरेर जीविका चलाउन सम्भव छैन भन्ने सामाजिक मनोविज्ञान विकास गराएको छ ।

यस्तो हुनुमा मुख्यत: कर्णाली क्षेत्रको खाद्य विविधता, महत्त्वपूर्ण कृषि पर्यावरण एवं स्थानीय विशेषताका आधारमा कृषि विकासका प्रयत्नहरू गर्नुभन्दा काठमाडौंमा तयार पारिने खाद्य तथा कृषि विकास योजना बाँड्ने मानसिकता हावी हुनु हो । यो मानसिकता नफेरी कर्णालीको खाद्य तथा कृषि फेर्न सम्भव छैन ।

साथै, हिजोआज जलवायु परिवर्तनले यस क्षेत्रको खेती प्रणालीलाई तहसनहस बनाउँदै लगेको छ । कृषि क्षेत्रमा यसले निम्त्याएका गम्भीर संकटहरू क्रमश: देखा पर्दै छन् । खडेरी निरन्तर बढ्दो छ । तापक्रम र वर्षाको अनिश्चितताले धेरैजसो ठाउँमा बिउ उम्रिनेदेखि बिरुवा हुर्किने, फुल्ने, फल्ने र दाना लाग्ने कुरामा नकारात्मक असर परेको छ । यसको असर पशुपन्छी र जडीबुटी उत्पादनमा समेत व्यापक छ । समयमै यी असरलाई सम्बोधन गर्न सक्षम खेती प्रणाली अपनाउन नसके यस क्षेत्रको खेतीपाती सदाका लागि लोपसमेत हुन सक्छ ।

पर्यावरणीय विशेषता

कर्णाली शुष्क/अर्धशुष्क कृषि प्रदेश हो। यस क्षेत्रलाई शुष्क कृषि क्षेत्र भन्न सकिन्छ। कर्णाली पानीढलोभित्रको क्षेत्र नेपालको अरू क्षेत्रभन्दा बिल्कुलै फरक छ। हुन त कर्णाली क्षेत्रभित्रका स्थानीय जैविक विशेषतामा समेत धेरै विविधता छन् । यी सूक्ष्म जैविक क्षेत्रको आधारमा गरिने खेतीपातीका सवालको सम्बोधन गर्न स्थानीय तहमै उपयुक्त योजनाको खाका बनाउनुपर्नेछ ।

कर्णाली क्षेत्रमा पाटन, मध्यभाग र बेंसी तीन तह छन् । यी क्षेत्रमा ऋतुअनुसार फरकफरक खेती प्रणाली हुन्छ। स्थानीय कृषकले यसअनुसार नै खेतीपाती तथा बस्तुभाउ व्यवस्थापन गरेका छन् र उनीहरूले आफ्नो जीवनशैली यसैमा ढालेका छन्। खेती गर्न किसानहरूले तीनै ठाउँमा घर तथा खेती गर्न सघाउने संरचना बनाएका छन् । विडम्बना, हाम्रो देशको कृषि योजनाले यस्तो छुट्टै विशेषता भएको कर्णालीको सम्पूर्ण क्षेत्रलाई नै फरक कृषि क्षेत्रका रूपमा हेर्न सकेको छैन।

कर्णाली क्षेत्रको पर्यावरण, माटो र हावापानी नेपालको अन्य क्षेत्रभन्दा निकै भिन्न र विविध छ । यस्तो उच्च शुष्क क्षेत्रमा उष्ण आद्र क्षेत्रमा भन्दा २–३ गुना कम वाष्पीकरण हुन्छ जसले गर्दा पानी निकै कम पर्छ । पाटन भेगमा पानीभन्दा हिउँ पर्ने गर्छ । सामान्यतया पानी या हिउँ पर्ने अवधि निकै छोटो हुन्छ । समथर शुष्क/अर्धशुष्क क्षेत्रहरूमा जैविक पदार्थ धेरै कम हुन्छ। उचाइमा चरन क्षेत्रहरू भएका र पशुहरूको उधौली–उभौली गरिने हुनाले प्रशस्त पशुजन्य मल उपलब्ध हुन्छ। यसले त्यस्ता ठाउँमा अन्य शुष्क क्षेत्रमा जस्तो माटोको बाहिरी पोषण तत्त्व आवश्यक पर्दैन। पशु र वनस्पति एकअर्काले परस्पर समृद्ध गर्ने गरेको हुन्छ।

यस्तो ठन्डा शुष्क क्षेत्रमा आद्र क्षेत्रमा जस्तो रोगकीराको समस्या पनि धेरै हुँदैन। यी हिमाली भेगमा पाइने खाद्यपदार्थमा तुलनात्मक रूपमा धेरै पोषण तत्त्व पाइन्छ । साथै अधिकांश खाद्यबालीमा औषधिजन्य गुणसमेत हुन्छ । यस क्षेत्रमा भण्डारण सहजै हुन्छ किनकि तातो र आद्र क्षेत्रमा जस्तो छिटो सड्ने गल्ने समस्या कम हुन्छ ।

रसायनरहित कर्णाली किन?

यस क्षेत्रमा रसायन र विषादीको प्रयोग आवश्यक छैन । रसायन प्रयोग गर्ने खेती प्रणालीमा धेरै पानी चाहिन्छ । रासायनिक कृषिको कुरा गर्नासाथ सबैतिर सिँचाइको कुरा आउँछ। यस क्षेत्रको माटो खुकुलो हुनाले थोरै पानीमै बाली लगाउनुपर्छ । धेरै पानीले माटो बगाएर लैजान्छ । यी क्षेत्रमा ठूला सिँचाइ कुला माटोको स्थिरताका लागि पनि आवश्यक हुन्न। त्यसो त अहिलेकै अवस्थामा अधिकांश ठाउँमा सिँचाइ पुर्‍याउन सम्भव छैन । त्यसैगरी, यस क्षेत्रमा लाग्ने रोगकीरा नियन्त्रणका लागि घातक रासायनिक विषादीको जरुरत पर्दैन । किसानहरूले आफैंले तयार गर्न सक्ने जैविक विषादीले अधिकांश रोगकीरा नियन्त्रण गर्न सकिन्छ ।

अहिलेसम्म कर्णालीमा पर्याप्त खाद्यान्न उत्पादन गर्न सकिँदैन भन्ने मान्यता छ। कति अवस्थामा खाद्यान्नको बुझाइ चामलमा मात्र सीमित भएर पनि यसो भनिएको हो । यो मानसिकता फेर्न जरुरी छ । साथै, कर्णालीमा भएका परम्परागत बाली विशेषगरी अन्नको उत्पादन बढाउनुपर्छ । एकातिर, यी पोषणयुक्त अन्नबाली यहाँको परिस्थितिमा खेती गर्न उपयुक्त छन् भने अर्कातिर पोषणयुक्त तथा औषधिजन्य यी अन्नबाली आधुनिक जीवनका लागि वरदान नै हुन्। कर्णालीले कृषिको उत्पादनमा अन्नभन्दा बाहिर पनि जोड दिन जरुरी छ। अर्को शुष्क क्षेत्रको ठूलो अवसर भनेको फलफूल खेती हो। अन्जिर, रूख बदाम, ओखरजस्ता सुकेर खाइने फलहरूको खेती कर्णालीको महत्त्वपूर्ण अवसर हो ।

यहाँका सम्भावनाहरूको विश्लेषण गरी अवसर र विशेषताअनुसारको दीर्घकालीन कृषिको दृष्टिकोण निर्माण गर्न जरुरी छ। कर्णालीमा शुष्क कृषि क्षेत्रको विशेषता आत्मसात् नगरेको कृषि रणनीति र योजना कार्यान्वयवन सम्भव हुन्न। यसरी हेर्दा, कर्णालीको परम्परागत खेती प्रणालीलाई उन्नत बनाउँदै, खेतीपाती, बस्तुभाउ, वनस्रोत र जडीबुटीको एकीकृत व्यवस्थापन, खानेकुरामा आत्मनिर्भर र तुलनात्मक लाभका कृषिउपजको व्यावसायिक प्रवद्र्धन गर्ने दृष्टिकोणको विकल्प छैन । यसका लागि कणालीमा शुष्क कृषि अध्ययन र अनुसन्धान गर्ने छुट्टै संस्था जरुरी छ । यसले मात्र कर्णाली विशेषताका स्थानीय बाली तथा बस्तुभाउको बीजवृद्धि र स्तरोन्नति गर्न र किसानलाई कृषि प्रविधि पुर्‍याउन सहयोग पुग्छ ।

सँगै, जैविक कृषिबारे भ्रम हटाउनु उत्तिकै जरुरी छ । भन्ने गरिन्छ— जैविक खेती गरेर उत्पादन बढाउन सकिँदैन, यस्तो कृषि व्यावसायिक हुँदैन, यसले अर्थतन्त्र चलायमान बनाउन सक्दैन, यसले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्दैन । यो मानव श्रममा आधारित छ । त्यसैले यसको उत्पादन लागत नै बढी छ । जैविक तरिकाबाट रोगकीरा नियन्त्रण गर्नै सकिँदैन । यस्तो खेतीपातीबाट आउने उत्पादन राम्रा देखिँदैनन्, त्यसैले बजार छैन । यस्तो आधुनिक जमानामा अब गोठेमल, कम्पोस्ट, विषादी बनाएर को बस्छ ? यस्ता अधिकांश भ्रम व्यापारिक कृषि गरी नाफा कमाउने बहुराष्ट्रिय कम्पनीले चलाएको हल्लामा आधारित छन् । जैविक खेतीबारे हाम्रो समाजमा फैलिएका यस्ता भ्रम चिर्न अध्ययन र अभ्यासबाट मात्र सम्भव छ । विडम्बना, यो दुवै गर्ने प्रेरणा न त हाम्रो कृषि शिक्षाले दिन्छ न सामाजिक नेतृत्वले ।

जैविक खेती प्रणाली रासायनिकभन्दा उत्पादनशील छ । रासायनिकबाट जैविक बनाउने संक्रमणकालीन अवधिबाहेक जैविक खेती प्रणाली रासायनिकभन्दा कम खर्चिलो हुन्छ । यो खेती प्रणालीले दीर्घकालीन रूपमा रासायनिक उत्पादनसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छ । खनिजस्रोतबाहेकका ऊर्जा र स्थानीय स्रोतको दिगो परिचालनबाट स्थानीयतामा उपयुक्त कृषि प्रविधि प्रयोग गरिने हुँदा उत्पादन लागत कम नै हुन्छ । ९० प्रतिशत रोगकीरा जैविक तरिकाबाट नियन्त्रण गर्न सकिन्छ । माटोमा पोषण नपुग्दासम्म र अहिलेको वर्णशंकर बिउको प्रयोग भैरहँदासम्म कृषिउपजको गुणस्तरमा भने समस्या देखिने हो । तर पूर्ण जैविक प्रक्रियामा यस्तो समस्या देखिएको छैन । आम मानिसमा विकासे राम्रो भन्ने चेतनाले घर गरेको छ । यो नै भ्रम सिर्जना गर्ने आधार हो । जैविक खेतीअन्तर्गत उन्नत कृषि प्रविधि प्रयोग गरी कृषि कर्मलाई सरल र कृषि पेसालाई मर्यादित बनाउन सकिन्छ । यो स्थानीय तहमा रोजगारी र आम्दानी बढाउने एक मात्र विकल्प पनि हो । यी कुरालाई आफू बुझ्नु र अरूलाई बुझाउँदै कर्णालीलाई जैविक क्षेत्र बनाउनु नै यसको पहिचानसहित समृद्धितर्फको यात्रा तय गर्नु हो ।

प्रकाशित: कान्तिपुर, पुस ३०, २०७४

704

Leave a Reply

Your email address will not be published. Required fields are marked *